कोशी र बागमती प्रदेशमा सडक अवरुद्ध : संखुवासभा र रसुवामा आवागमन ठप्प
Prime TV News एक महिना अगाडि 
काठमाडौ । निरन्तरको वर्षासँगै आएको ढी पहिरो र बाढीका कारण कोशी र बागमती प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको अद्यावधिक विवरण अनुसार संखुवासभा र रसुवाका विभिन्न सडक खण्डहरूमा आवागमन पूर्ण रूपमा रोकिएको छ।
संखुवासभाको कोशी राजमार्ग अन्तर्गत पर्ने भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवा क्षेत्रमा पहिरो खसेपछि यातायात सम्पूर्ण रूपमा बन्द भएको हो। लगातारको वर्षाले पहाड खसाल्दा सडक दुबै तर्फबाट अवरुद्ध बनेको प्रहरीले जनाएको छ। यसले गर्दा स्थानीय बासिन्दा र यात्रुहरू समस्यामा परेका छन्।
उता, बागमती प्रदेशको रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा रहेको नेपाल–चीन जोड्ने रणनीतिक पुलमा आएको बाढीका कारण रसुवागढी नाका हुँदै हुने सम्पूर्ण व्यापारिक तथा सवारी आवागमन ठप्प भएको छ। पुलमा बाढी पसेपछि सुरक्षाको कारण पुल प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ।













