एमाले नेता महेश बस्नेतमाथि साइबर अपराध अनुसन्धान अघि बढाइने

User Image Prime TV News एक महिना अगाडि
Image of एमाले नेता महेश बस्नेतमाथि साइबर अपराध अनुसन्धान अघि बढाइने

काठमाडौ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथि सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गरेको आरोपमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान अघि बढाउने निर्णय गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नेपाल प्रहरीको साइबर ब्युरोलाई सोमबार पत्राचार गर्दै बस्नेतविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो। शोभा पाठक (उर्फ जानुका पाठक)ले दिएको जाहेरीका आधारमा यो प्रक्रिया सुरु गरिएको हो।

वकिल उदयचन्द अधिकारीद्वारा हस्ताक्षरित पत्रमा बस्नेतले आफ्नो फेसबुक वालमा प्रयोग गरेका आपत्तिजनक शब्दप्रति प्रष्टिकरण मागिएको छ। 

साइबर ब्युरोले यसअघि ३१ भदौ २०८२ मा उक्त जाहेरी तामेलीमा राख्न सुझाव दिँदै कारबाही नगर्ने राय दिएको थियो। तर सरकारी वकिलको कार्यालयले त्यस निर्णय उल्टाउँदै थप अनुसन्धान गर्न भनेको हो। 

विद्युतीय कारोबार ऐन अन्तर्गत सामाजिक सञ्जालमा गरिएको गाली बेइज्जतीलाई कानूनी कसुर मानिन्छ र दोषी प्रमाणित भएमा रु. १ लाखसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनसक्ने प्रावधान छ।