चितवन कारागारको फरार कैदीबन्दीलाई सम्पर्कमा आउन अन्तिम आग्रह, नआए कानुनी कारबाही हुने
Prime TV News एक महिना अगाडि 
चितवन । चितवनस्थित कारागार कार्यालयले फरार रहेका कैदीबन्दीहरूलाई यही असोज २० गतेसम्म सम्पर्कमा आउन अन्तिम मौका दिएको छ। कारागार कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाले जारी गरेको सूचनामा तोकिएको समयभित्र सम्पर्कमा नआएमा कारागार ऐन, २०७९ तथा प्रचलित कानुनअनुसार कडा कानुनी कारबाही गरिने उल्लेख गरिएको छ।
गत भदौ २५ गते विभिन्न कारणले कारागारबाट बाहिर निस्किएका ७४२ जना कैदीबन्दीमध्ये हालसम्म ५६१ जना मात्रै सम्पर्कमा आएका छन्। अन्य जिल्लाका कारागारसँग आठ जना सम्पर्कमा रहेको तथा १७ जना अन्य जिल्लाबाट यहाँ सम्पर्कमा आएका कारागार प्रमुख ढुङ्गानाले जानकारी दिएका छन्।
यसैबीच, ललितपुरको नख्खु कारागारबाट भागेका कैदीहरूमध्ये अझै ६५१ जना फरार रहेको पुष्टि भएको छ। उनीहरूलाई पनि असोज २० गते सोमबारसम्म आत्मसमर्पण गर्न निर्देशन दिइएको छ।
कारागार व्यवस्थापन विभागले फरार कैदीहरूको खोजी तथा पुन: फिर्ता ल्याउन सुरक्षा निकाय, स्थानीय तह, सञ्चार माध्यम, कैदीका परिवारजन र अन्य सरोकारवाला निकायसँग सहकार्य गर्न आग्रह गरेको छ।













