ई–बिडिङ ह्याक प्रकरणमा निर्माण कम्पनीका सञ्चालकहरू पक्राउ, अनुसन्धान जारी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । विद्युतीय बोलपत्र प्रणाली (ई–बिडिङ) ह्याक गरेर ठेक्का हत्याउने घटनामा संलग्न भएको आरोपमा थप निर्माण कम्पनीका सञ्चालकहरू पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शनिबार साँझ दुई निर्माण कम्पनीका प्रतिनिधिलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा इन्कोन प्रालिका लेखापाल स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्सका सञ्चालक प्रकाश ढुंगाना रहेका छन्। सीआईबीले गएको चैतको अन्तिम सातादेखि ई–बिडिङ प्रणाली ह्याक गर्ने गिरोहविरुद्ध अनुसन्धान अघि बढाएको थियो।
यसअघि शुक्रबार पनि कालिका कन्स्ट्रक्सनका सञ्चालक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डे र भीषण कन्स्ट्रक्सनका टंककुमार श्रेष्ठ पक्राउ परेका थिए। सीआईबीका अनुसार अहिलेसम्म यो प्रकरणमा १० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







