कांग्रेसले भोली दिउँसो १ बजेसम्म संसदीय दल नेता चयन गर्ने तयारी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले संसदीय दल नेता सोमबार दिउँसो १ बजेसम्म चयन गर्ने तयारी गरेको छ। सह–महामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीका अनुसार सोमबार बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्नेछ। त्यसपछि दिउँसो १ बजे दल नेता चयन प्रक्रिया अघि बढाइनेछ।
उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा सहमति जुटाउने प्रयास भइरहेको छ। सभापति गगन थापाले कार्यदलको सुझावका आधारमा दल नेताको नाम प्रस्ताव गर्ने तयारी गरेका छन्। पार्टीभित्र सकेसम्म सर्वसम्मतिमा दल नेता चयन गर्ने प्रयास भइरहेको कांग्रेसले जनाएको छ। तर सहमति नभए निर्वाचनमार्फत चयन गरिनेछ।
कांग्रेससँग प्रतिनिधि सभामा ३८ जना सांसद छन्। संसदीय दल नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, योगेश गौचन थकाली, बासना थापा र निश्कल राईलगायत आकांक्षी रहेका छन्।







