कांग्रेसले अझै संसदीय दल नेता चयन गर्न सकेन, छलफल जारी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधि सभा निर्वाचन भएको डेढ महिना बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दल नेता चयन गर्न सकेको छैन। फागुन २१ मा भएको निर्वाचनपछि कांग्रेसले दल नेता चयनका लागि आज पनि छलफल जारी राखेको छ। कांग्रेससँग ३८ जना सांसद छन्।
प्रमुख प्रतिपक्षी दल भएकाले संसदीय दल नेता संवैधानिक परिषदको सदस्य हुने व्यवस्था छ। तर कांग्रेसले दल नेता चयन नगर्दा परिषदले पूर्णता पाउन सकेको छैन। दल नेता चयनमा ढिलाइ हुनुको मुख्य कारण पार्टीभित्रको आन्तरिक मतभेद मानिएको छ। विशेष महाधिवेशनपछि देखिएको असमझदारी अझै समाधान हुन नसकेको नेताहरू बताउँछन्।
यसअघि दल नेता चयनका लागि निर्वाचन गर्ने तयारी भए पनि पछि सहमतिमा चयन गर्ने भन्दै प्रक्रिया रोकिएको थियो। त्यसपछि उपसभापति, महामन्त्री र निर्वाचन समितिसहितको कार्यदल बनाएर छलफल अघि बढाइएको छ। कार्यदलले आकांक्षी सांसदहरूसँग सहमतिमा नेता चयन गर्ने प्रयास गरिरहेको छ। तर अहिलेसम्म सहमति जुट्न सकेको छैन।
दल नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्यलगायतका सांसदहरू आकांक्षी छन्। नेताहरूका अनुसार सभापति गगन थापा सहमतिमै नेता चयन गर्नुपर्ने पक्षमा छन्। तर पार्टीभित्र एकमत नहुँदा निर्णय ढिलो भइरहेको छ। कार्यदलले सहमति नभए निर्वाचनमार्फत दल नेता चयन गर्ने तयारी गरेको छ। भोलिसम्म टुंगो लगाउने प्रयास भइरहेको कांग्रेसले जनाएको छ।







