बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग ठप्प, यात्रुहरू समस्यामा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । लगातारको वर्षापछि आएको बाढीले बीपी राजमार्गका विभिन्न डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबार दिउँसोदेखि बन्द राजमार्ग १५ घण्टासम्म पनि सञ्चालनमा आउन सकेको छैन।
काभ्रे र सिन्धुलीको आँपघारी क्षेत्रका चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, कालढुंगा र माम्ती क्षेत्रमा बनाइएका अस्थायी डाइभर्सन बाढीले बगाएको प्रहरीले जनाएको छ।
राजमार्ग बन्द हुँदा काठमाडौँबाट पूर्वी जिल्ला र तराईतर्फ जाने तथा राजधानी भित्रिने सयौं सवारीसाधन रोकिएका छन्। धेरै यात्रु बाटोमै अलपत्र परेका छन् भने अत्यावश्यक सेवा पनि प्रभावित बनेको छ।
प्रहरीले जोखिम अझै रहेकाले अनावश्यक यात्रा नगर्न र सम्भव भए वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। सडक डिभिजन कार्यालयले मौसम सुधार भएपछि क्षतिग्रस्त डाइभर्सन मर्मत गरेर यातायात पुनः सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ।
लगातारको वर्षाका कारण सडक खुल्न भने अझै समय लाग्न सक्ने अनुमान छ।







