राप्रपामा विवादबीच नेता पलायन, रवि किरण हमालले पनि पार्टी छाडे

User Image Prime TV News एक महिना अगाडि
Image of राप्रपामा विवादबीच नेता पलायन, रवि किरण हमालले पनि पार्टी छाडे

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमालले पार्टी छाडेका छन्।

उनले शुक्रबार लोकतन्त्र दिवसको अवसरमा राजीनामा दिएर पार्टीबाट अलग भएको घोषणा गरेका हुन्। हमालले आफ्नो निर्णयबारे जानकारी दिँदै पार्टीबाट पूर्ण रूपमा बाहिरिएको बताएका छन्। उनले नेतृत्वमाथि कुनै सीधा आरोप नलगाए पनि पार्टीभित्रको अवस्था र गतिविधिबाट असन्तुष्टि रहेको बुझिएको छ।

पछिल्लो समय राप्रपाभित्र विवाद बढ्दै जाँदा नेता तथा कार्यकर्ता पार्टी छाड्ने क्रम बढिरहेको छ। यसअघि पनि हिक्मत कार्की, रवीन्द्र मिश्र, ऋषिबाबु परियारलगायत नेताहरूले पार्टी परित्याग गरेका थिए। त्यस्तै अन्य केही नेताहरूले पनि विभिन्न कारण देखाउँदै जिम्मेवारीबाट राजीनामा दिएका छन्।

पार्टीका नेताहरूका अनुसार चुनावको नतिजापछि असन्तुष्टि बढ्दै गएको छ, जसले गर्दा पार्टी छाड्ने क्रम बढेको हो। यसैबीच, पार्टीभित्र नेतृत्वलाई लिएर विवाद जारी रहेको छ। केही नेताहरूले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन्, जसका कारण आन्तरिक समस्या थप चर्किएको बताइएको छ।