निजी क्षेत्रद्वारा उद्योगी–व्यवसायीमाथिको धरपकडप्रति आपत्ति
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपालका प्रमुख निजी क्षेत्रका छाता संगठनहरूले सरकारले उद्योगी–व्यवसायीमाथि गरेको पक्राउ र अनुसन्धान शैलीप्रति आपत्ति जनाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै हालका घटनाले निजी क्षेत्रलाई निरुत्साहित बनाएको बताएका छन्।
बिहीबार उद्योगी शेखर खोल्छालाई प्रहरीले नियन्त्रणमा लिएपछि निजी क्षेत्रका संगठनहरूले प्रतिक्रिया दिएका हुन्। उनीहरूले नयाँ सरकार आएपछि लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिएको भए पनि उल्टै डर र अनिश्चितता बढेको बताएका छन्। उनीहरूको भनाइ अनुसार निजी क्षेत्रले देशको अर्थतन्त्रमा ठूलो योगदान दिइरहेको छ।
त्यसैले व्यवसायीलाई पक्राउ गर्दा अर्थतन्त्र, रोजगारी, आपूर्ति प्रणाली र बैंकिङ क्षेत्रमा समेत नकारात्मक असर पर्न सक्ने चेतावनी दिइएको छ। संगठनहरूले आर्थिक मुद्दामा पहिले स्पष्ट सुनुवाइ गरेर मात्र कानुनी प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।
अनुसन्धानमा सहयोग गर्न व्यवसायीहरू तयार रहेको भए पनि पक्राउ शैली उचित नभएको उनीहरूको भनाइ छ। उनीहरूले “कसुर प्रमाणित नभएसम्म कसैलाई दोषी मान्न नहुने” संवैधानिक व्यवस्थाको स्मरण गराउँदै निजी क्षेत्रको सुरक्षा र विश्वास कायम राख्न सरकारसँग आग्रह गरेका छन्। निजी क्षेत्रका अनुसार लगानी बढाउन र रोजगारी सिर्जना गर्न व्यवसायीमैत्री वातावरण आवश्यक छ, नत्र अर्थतन्त्र अझै प्रभावित हुन सक्नेछ।







