जनतालाई बेघर बनाउने नीति पूर्णत गलत: साम्पाङ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकारले देशका विभिन्न स्थानमा रहेका सुकुमबासी बस्तीहरूमा डोजर चलाउन थालेपछि श्रम संस्कृति पार्टी विरोधमा उत्रिएको छ।
पार्टीका अध्यक्ष हर्क साम्पाङले एक विज्ञप्तिमार्फत सरकारको यस कदमको कडा निन्दा गर्दै गरिब जनतालाई बेघर बनाउने यो नीति पूर्णतः गलत रहेको बताएका छन्।
अध्यक्ष साम्पाङले संविधानको धारा ३७ को उपधारा १ ले प्रत्येक नागरिकलाई आवासको हक दिएको उल्लेख गर्दै सरकारले त्यही संविधानविपरीत काम गरेको आरोप लगाएका छन्।
उनले भने- उचित क्षतिपूर्ति र पुनर्वास नगरी जनताको घर भत्काउनु स्वीकार्य छैन। अध्यक्ष साम्पाङले यी सुकुमबासीहरू दशकौँ अघिदेखि ती ठाउँमा बसिआएको र आफ्नो जीवनभरको कमाइ खर्चेर घर बनाएको स्मरण गराए। उनले तत्कालिन राज्य संयन्त्रको मौन सहमति बिना यी बस्तीहरू टिक्न नसक्ने तर्क गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, जनताको घर भत्काउने, लाठी र बन्दुक देखाएर तर्साउने तथा गालीगलौज गर्ने काम राज्य आतंक हो। यस्तो व्यवहारले सरकारको निरंकुश चरित्र उजागर भएको पार्टीको भनाइ छ।
अध्यक्ष साम्पाङले सरकारलाई सचेत गराउँदै जनतालाई सडकमा छाडेर सुशासन र विकास कहिल्यै सम्भव नहुने बताएका छन् । साथै श्रम संस्कृति पार्टीले सरकारलाई नागरिकको सम्मान गर्न र उचित पुनर्वासको व्यवस्था गरेर मात्र अघि बढ्न माग गरेको छ।








