संविधान संशोधनमा श्रम संस्कृति पार्टीको अबधारणा– प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली
Prime TV News एक महिना अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू गर्न सुझाव दिएको छ। पार्टीले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदललाई लिखित सुझाव बुझाउँदै यस्तो व्यवस्था गर्नुपर्ने धारणा राखेको हो।
पार्टी अध्यक्ष हर्क साम्पाङले सार्वजनिक गरेको सुझाव पत्रमा जनताले प्रत्यक्ष रूपमा कार्यकारी राष्ट्रपति चुन्न पाउने व्यवस्था हुनुपर्ने उल्लेख गरिएको छ। त्यस्तो राष्ट्रपतिले आफ्नो पायकका व्यक्तिहरूलाई छानेर मन्त्रिपरिषद गठन गर्नुपर्ने र मन्त्रिपरिषद गठन गर्दा समावेशी सिद्धान्त अपनाउनुपर्ने प्रस्ताव पनि गरिएको छ।
सुझावमा कार्यकारी प्रमुखको अधिकारमा सीमा निर्धारण गर्नुपर्ने उल्लेख छ। यदि कार्यकारी प्रमुख निरंकुश बनेमा महाअभियोग लगाउन सकिने व्यवस्था गर्नुपर्ने र संसदबाट महाअभियोग पास भएमा पदमुक्त हुने प्रणाली राख्नुपर्ने पनि प्रस्ताव गरिएको छ।
त्यस्तै, राज्यका सबै निकायहरूमा सबै जातजाति र समुदायको समान सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा पार्टीले राखेको छ। राजनीतिक पददेखि सेना, प्रहरी र अन्य सरकारी सेवासम्म समावेशी प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने सुझाव पनि दिइएको छ।
श्रम संस्कृति पार्टीले पूर्ण समावेशी राज्य प्रणाली निर्माण गर्नुपर्ने भन्दै संविधानलाई अझ बढी जनमुखी र प्रतिनिधिमूलक बनाउन आवश्यक रहेको जनाएको छ।








