थापाथलीका सुकुम्बासी बस्ती हटाउन प्रधानमन्त्री बालेनको निर्देशन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले थापाथली क्षेत्रको सुकुम्बासी बस्ती हटाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। बुधबार साँझ सिंहदरबारमा सुरक्षा प्रमुखहरूसँग भएको बैठकमा उनले शनिबार र आइतबारदेखि बस्ती खाली गराउने काम सुरु गर्न भनेका हुन्।
बैठकमा दान बहादुर कार्की, राजु अर्याल लगायत सुरक्षा निकायका उच्च अधिकारी सहभागी थिए। उनीहरूले थापाथलीस्थित बागमती खोला किनारको सुकुम्बासी बस्ती हटाउने तयारी भइरहेको बताएका छन्। अब सुरक्षा निकायले काठमाडौँका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर काम अघि बढाउने तयारी गरेको छ।
यसअघि बालेन काठमाडौँ महानगरपालिकाको मेयर हुँदा पनि नदी किनारका बस्ती हटाउने प्रयास गरेका थिए। तर त्यतिबेला स्थानीयको विरोधका कारण काम सफल हुन सकेको थिएन।
अहिले भने संघीय सरकारको नेतृत्वमा पुगेपछि उनले फेरि अतिक्रमित सार्वजनिक जमिन खाली गराउने अभियान सुरु गरेका छन्। सरकारको योजना अनुसार देशभर रहेका यस्ता बस्ती हटाउने काम काठमाडौँबाट सुरु हुने बताइएको छ।







