महाधिवेशनमा युवालाई नेतृत्वमा प्राथमिकता दिने प्रचण्डको घोषणा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व तहमा युवालाई अवसर दिने बताएका छन्।
पार्टी स्थापना दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले असोजसम्म महाधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार महाधिवेशनपछि पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाइनेछ।
प्रचण्डले महाधिवेशनमार्फत युवा र सक्रिय नेतृत्वलाई प्राथमिकता दिने बताएका छन्। साथै, पुराना नेताहरू पनि नयाँ भूमिकामा रहने विषयमा छलफल भइरहेको उनले बताए। उनले करिब ६ महिनाभित्र महाधिवेशन गर्ने योजना रहेको पनि स्पष्ट पारे।
कार्यक्रममा उनले वामपन्थी र कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नु आवश्यक रहेको बताए। अहिले सरकारमा नरहेकाले पार्टी सुधार र संगठन मजबुत बनाउने अवसर प्राप्त भएको उनको भनाइ थियो। उनका अनुसार अब पार्टीलाई नयाँ ढंगले अघि बढाउने तयारी भइरहेको छ।







