नेकपा एमालेमा आत्मआलोचना: उपाध्यक्ष विष्णु पौडेलले भने–पराजयका लागि आफैं जिम्मेवार
Prime TV News एक महिना अगाडि 
काठमाडौ । विष्णु पौडेलले पार्टीको हालको अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्। नेकपा एमालेको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै उनले पछिल्लो निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको स्वीकार गरेका हुन्।
पौडेलले नेपाली मतदाताको ठूलो हिस्साले पार्टीलाई अस्वीकार गरेको उल्लेख गर्दै पराजयका लागि आफ्नै कमजोरी जिम्मेवार रहेको बताएका छन्। उनले भने, “हिजोको सफलतामा हाम्रो योगदान थियो भने आजको असफलतामा पनि हाम्रै गल्ती र कमजोरीको भूमिका छ।”
उनका अनुसार पार्टीभित्र नीति, नेतृत्व, संगठन र कार्यशैलीमा सुधार गर्न आवश्यक छ। उनले यी कमजोरीहरू स्वीकार गर्दै सच्याउनुपर्नेमा जोड दिएका छन्। पौडेलले सफलता जस्तै पराजयको जिम्मेवारी पनि लिनुपर्ने बताउँदै समयअनुसार पार्टीलाई पुनर्गठन गर्नुपर्ने धारणा राखेका छन्।
साथै, उनले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउन आवश्यक रहेको बताएका छन्। उनको यो अभिव्यक्तिलाई पार्टीभित्र आत्मसमीक्षा र सुधारको संकेतका रूपमा हेरिएको छ।







