सिरहा कारागारमा फेरि विवाद, २२ कैदी नियन्त्रणमा
Prime TV News एक महिना अगाडि 
सिरहा । सिरहा कारागारभित्र फेरि विवाद र तनाव देखिएको छ। आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास गरेको आरोपमा प्रहरीले २२ जना कैदीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार बिहान कारागारमा सुरक्षा अवस्था बिग्रिएपछि प्रहरी टोलीले कारबाही गरेको हो।
दुई दिनअघि केही कैदीको समूहले कारागारका चौकीदार प्रेम चौधरीलाई कारागार बाहिर निकालेको थियो। त्यसपछि उनीहरूले कारागारको व्यवस्थापन आफैं नियन्त्रणमा लिन खोजेको आरोप छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेशबहादुर पालले स्थिति नियन्त्रणमा लिन २२ जनालाई पक्राउ गरिएको बताए। उनका अनुसार, “कारागारभित्र केही कैदीले प्रशासन आफ्नो हातमा लिन खोजेपछि सुरक्षा जोखिम बढ्यो, त्यसैले नियन्त्रणमा लिइयो।”
प्रहरीले नियन्त्रणमा लिइएका कैदीलाई कानुनी प्रक्रिया पूरा गरेर अन्य कारागारमा सार्ने तयारी भइरहेको जनाएको छ। यसअघि पनि गत माघमा कारागारभित्र हतियार फेला परेपछि १३ जना कैदीलाई अन्यत्र सारिएको थियो। त्यसपछि पनि कारागारभित्र विवाद र तनाव देखिँदै आएको छ।







