इरानलाई छिटो सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको कडा चेतावनी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई छिटो सम्झौता गर्न कडा चेतावनी दिएका छन्। उनले बुधबारसम्म सहमति नभए इरानमाथि ठूलो बमबारी हुन सक्ने बताएका छन्।
ट्रम्पका अनुसार दुई हप्ताको युद्धविराम अप्रिल २२ मा सकिँदैछ। त्यसअघि कुनै सम्झौता नभए लडाइँ फेरि सुरु हुन सक्छ। उनले युद्धविराम थपिने सम्भावना कम रहेको पनि बताएका छन्।
उनले आफू हतारमा कुनै खराब सम्झौता नगर्ने स्पष्ट पारेका छन्। आवश्यक परे इरानका नेताहरूसँग सिधै भेटेर कुरा गर्न तयार रहेको पनि उनले बताएका छन्।
इस्लामाबादमा हुने भनिएको शान्ति वार्ता भने अन्योलमा परेको छ। इरानले वार्तामा रुचि नदेखाएको बताइएको छ। पाकिस्तानका सेनाप्रमुख असिम मुनिरले अमेरिकासँग कुरा गर्दै इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी वार्तामा बाधा बनेको बताएका छन्।
ट्रम्पले यो तनावको मुख्य कारण हमासले अक्टोबर ७ मा गरेको आक्रमण भएको बताएका छन्। उनले इरानलाई परमाणु हतियार बनाउन नदिने आफ्नो अडान दोहोर्याएका छन्। अहिलेको अवस्था निकै संवेदनशील देखिएको छ। समयमै सहमति नभए अवस्था झन् खराब हुन सक्ने संकेत देखिएको छ।







