जापानमा शक्तिशाली भूकम्प, सुनामीको खतरा

User Image Prime TV News एक महिना अगाडि
Image of जापानमा शक्तिशाली भूकम्प, सुनामीको खतरा

काठमाडौ । जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। सोमबार साँझ ७.४ म्याग्निच्युडको भूकम्प गएको हो। जापान मौसम विज्ञान एजेन्सीले भूकम्पपछि तीन मिटरसम्म अग्लो सुनामी आउन सक्ने चेतावनी दिएको छ। तटीय क्षेत्रमा बस्ने मानिसलाई तुरुन्त सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

भूकम्प इवाटे प्रान्त नजिक समुद्री क्षेत्रमा गएको हो। यसको धक्का राजधानी टोकियो सम्म महसुस गरिएको छ । जहाँ भवनहरू हल्लिएका छन्। अधिकारीहरूले सुनामी छाल छिट्टै आउन सक्ने भन्दै समुद्र किनार र नदी आसपासका बासिन्दालाई उच्च स्थानमा जान भनेका छन्। साथै, चेतावनी हटेपछि मात्र सुरक्षित स्थानबाट फर्कन आग्रह गरिएको छ।

सरकारले आपतकालीन टोली बनाएर अवस्थाको निगरानी गरिरहेको जनाएको छ। रिङ अफ फायर क्षेत्रमा पर्ने जापानमा बारम्बार भूकम्प जाने गर्छ। यसअघि सन् २०११ मा ठूलो भूकम्प जाँदा ठूलो क्षति भएको थियो। हालको भूकम्पपछि पनि सबैलाई सतर्क रहन अधिकारीहरूले आग्रह गरेका छन्।