विश्वविद्यालयमा सुरक्षा युनिट राख्ने निर्णयप्रति नेविसंघको विरोध

User Image Prime TV News एक महिना अगाडि
Image of विश्वविद्यालयमा सुरक्षा युनिट राख्ने निर्णयप्रति नेविसंघको विरोध

काठमाडौ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विश्वविद्यालय परिसरभित्र सुरक्षा युनिट स्थापना गर्ने सरकारको निर्णयको विरोध गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै नेविसंघले विद्यार्थी संगठन हटाउने उद्देश्यले गरिएको यो निर्णयले विद्यार्थीको संगठित हुने अधिकारमाथि प्रहार गरेको आरोप लगाएको छ।

सरकारले विश्वविद्यालय र क्याम्पसमा दलीय विद्यार्थी संगठन हटाउने तथा आवश्यक परे सुरक्षा निकाय खटाउने निर्णय गरेको थियो। नेविसंघले यसलाई एकपक्षीय र गलत कदम भनेको छ। संघका अनुसार यस्तो निर्णयले विश्वविद्यालयभित्र तनाव बढाउन सक्ने र शैक्षिक वातावरणमा असर पार्ने खतरा छ। त्यसैले निर्णय पुनर्विचार गर्न सरकारलाई आग्रह गरिएको छ।

नेविसंघले विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ। साथै, विद्यार्थी संगठनलाई कार्यालयका लागि कोठा वा भवन नदिने भन्ने विषयलाई पनि गलत र आधारहीन भनेको छ। संघले विश्वविद्यालयलाई राजनीतिक एजेन्डा कार्यान्वयन गर्ने माध्यम बनाउन खोजिएको भन्दै आलोचना गरेको छ।

त्यस्तै, विश्वविद्यालयभित्र राखिएका स्वागत बोर्ड तथा अन्य संरचनालाई हटाउने विषय पनि संवाद र सहकार्यबाट मात्र अघि बढाउनुपर्ने नेविसंघको भनाइ छ।