इरानसँग वार्ताका लागि अमेरिकी टोली इस्लामावाद जाने ट्रम्पको घोषणा

User Image Prime TV News एक महिना अगाडि
Image of इरानसँग वार्ताका लागि अमेरिकी टोली इस्लामावाद जाने ट्रम्पको घोषणा

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दोस्रो चरणको वार्ताका लागि अमेरिकी टोली सोमबार बेलुकी इस्लामावाद पुग्ने बताएका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै ट्रम्पले अमेरिकी प्रतिनिधिमण्डल वार्ताका लागि इस्लामावाद पठाइने जानकारी दिएका हुन्। उनका अनुसार टोली सोमबार साँझसम्म त्यहाँ पुग्नेछ।

ट्रम्पले इरानलाई यस पटक निष्पक्ष र उचित प्रस्ताव दिइने बताएका छन्। तर सम्झौता नभए इरानका ऊर्जा संरचना र पुलहरूमा कारबाही हुन सक्ने चेतावनी पनि दिएका छन्। उनले हर्मुज क्षेत्रमा जहाजमाथि गोली प्रहार गरेर इरानले युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्। साथै, हर्मुज बन्द गर्ने इरानको घोषणालाई उनले हास्यास्पद भनेका छन्।

ट्रम्पका अनुसार हर्मुज बन्द भए इरानलाई नै ठूलो आर्थिक नोक्सानी हुनेछ र अमेरिकालाई खासै असर नपर्ने दाबी गरिएको छ। यसअघि पहिलो चरणको वार्तामा अमेरिकी उपराष्ट्रपति, मध्यपूर्व दूत  र ट्रम्पका ज्वाइँ समेत सहभागी भएका थिए।

वार्तास्थल भनिएको इस्लामावाद बारे भने इरान र पाकिस्तानले आधिकारिक पुष्टि गरेका छैनन्। अमेरिकी समाचार संस्था एपीका अनुसार दुवै पक्षबीच उच्चस्तरीय छलफल भइरहेको भए पनि वार्तामा सहभागिताबारे स्पष्ट जानकारी आएको छैन।