वसुन्धराश्री पुरस्कार लोकेन्द्रबहादुर चन्दलाई, मानश्री पुरस्कार स्वामी आनन्द अरुणलाई

User Image Prime TV News एक महिना अगाडि
Image of वसुन्धराश्री पुरस्कार लोकेन्द्रबहादुर चन्दलाई, मानश्री पुरस्कार स्वामी आनन्द अरुणलाई

काठमाडौ । वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई दिने निर्णय गरेको छ।

प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले चन्दलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। नेपाली साहित्यमा कथा, नाटक र निबन्ध लेखनमार्फत उनले महत्वपूर्ण योगदान दिएको भन्दै यो सम्मान दिने निर्णय गरिएको हो।

प्रतिष्ठानका अनुसार चन्दले नेपाली भाषा र साहित्यलाई समृद्ध बनाउन र अन्तर्राष्ट्रिय स्तरमा यसको पहिचान बढाउन योगदान दिएका छन्। १९९७ सालमा बैतडीमा जन्मिएका चन्द पूर्वप्रधानमन्त्री पनि हुन्। उनका ‘विसर्जन’, ‘हिउँको तन्ना’, ‘बाह्रौँ खेलाडी’, ‘अपराजिता’ र ‘नेताका साथी’ लगायतका कृतिहरू प्रकाशित छन्।

त्यसैगरी, यस वर्षको मानश्री पुरस्कार योग, ध्यान र आध्यात्मिक क्षेत्रमा योगदान दिएको भन्दै स्वामी आनन्द अरुणलाई प्रदान गर्ने निर्णय गरिएको छ। २००१ सालमा जनकपुरमा जन्मिएका स्वामी आनन्द अरुणका ‘अन्तरयात्रा’, ‘सन्तगाथा’, ‘सन्तदर्शन’ र ‘अचम्म जे देखेँ मैले’ जस्ता कृतिहरू प्रकाशित छन्। उनका केही कृतिहरू विदेशी भाषामा पनि अनुवाद भएका छन्।

दुवै पुरस्कारको राशि जनही ७५ हजार रुपैयाँ र सम्मानपत्र रहेको प्रतिष्ठानले जनाएको छ।