कांग्रेस अनुशासन समितिको बैठक बस्दै, खड्कामाथि कारबाहीको टुंगो लाग्ने संकेत

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेस अनुशासन समितिको बैठक बस्दै, खड्कामाथि कारबाहीको टुंगो लाग्ने संकेत

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्दै छ। बैठक दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ।

पार्टी सचिव दिनेश थापामगरका अनुसार बैठकमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का माथि सोधिएको स्पष्टीकरणको विषय मुख्य एजेन्डा बन्नेछ।

अनुशासन समितिले यसअघि खड्कालाई पार्टी विधानविपरीत गतिविधि गरेको भन्दै ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो। उनले पार्टीको लेटरप्याड प्रयोग गरेर नभएको पद उल्लेख गरी विज्ञप्ति जारी गरेको आरोप छ।

केन्द्रीय सदस्य तारामान गुरुङ नेतृत्वको समितिले खड्काको उक्त कदमलाई पार्टी विधान २०१७ (संशोधनसहित) विपरीत ठहर गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। तोकिएको समयभित्र जवाफ नआए कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी पनि दिइएको छ।

यसैबीच, पार्टी सभापति गगन थापाले आइतबार खड्कासँग भेट गरेका छन्। उनले पार्टीभित्र देखिएको बेमेल हटाएर एकता कायम गर्ने प्रयास भइरहेको बताएका छन्।

खड्काले यसअघि कार्यवाहक सभापतिको हैसियतमा चैत १४ गते विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ प्रति आपत्ति जनाएका थिए। साथै, चैत १७ गते उनले केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएका थिए।

कांग्रेसभित्र बढ्दो विवादका बीच बस्न लागेको यो बैठकलाई महत्वपूर्ण मानिएको छ। यसले पार्टीभित्रको अनुशासन र आन्तरिक शक्ति सन्तुलनबारे स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ।