युवा सहभागिता ६० प्रतिशत हुनुपर्ने माग गर्दै पेरिसडाँडामा अनसन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा एक युवा अनसनमा बसेका छन्। पार्टीभित्र ४० वर्ष मुनिका युवाहरूलाई कमिटीहरूमा ६० प्रतिशत प्रतिनिधित्व दिनुपर्ने माग गर्दै उनले अनसन सुरु गरेका हुन्।
अनसनमा बस्ने भुवन सिंह विष्टले पार्टीको केन्द्रीय संयोजनदेखि सेल कमिटीसम्म युवाको सहभागिता बढाउनुपर्ने माग राखेका छन्। उनी पछिल्लो तीन दिनदेखि अनसनमा छन्। विष्टका अनुसार पार्टीले युवालाई अगाडि ल्याउने कुरा मात्रै गर्ने तर व्यवहारमा लागू नगरेको कारण आफूले विरोध स्वरूप अनसन सुरु गरेको हो।
उनले पार्टीको विशेष महाधिवेशन छिट्टै मिति तोकेर तीन महिनाभित्र सम्पन्न गर्न पनि माग गरेका छन्। त्यसैगरी, केन्द्रीय पदाधिकारीहरू प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्ने र ४० वर्ष मुनिका युवालाई चुनावमा उम्मेदवार नबनाउने अभ्यास गलत भएको भन्दै त्यसलाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्ने उनको माग छ।
साथै, पार्टीका सबै पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि उनले माग गरेका छन्। अनसनका कारण पार्टीभित्र युवाको सहभागिता र आन्तरिक सुधारका विषय फेरि चर्चामा आएका छन्।







