होर्मुज स्ट्रेटमा भारतीय जहाजमाथि गोली चलेको घटनाबारे इरानको प्रतिक्रिया
Prime TV News एक महिना अगाडि 
काठमाडौ । भारतस्थित इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका प्रतिनिधि डा. अब्दुल मजिद हाकिम इलाहीले होर्मुज स्ट्रेटमा दुई भारतीय जहाजमा गोली चलेको घटनाबारे आफूलाई जानकारी नभएको बताएका छन्।
उनले इरान र भारतबीचको सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै यो विषय चाँडै समाधान हुने आशा व्यक्त गरेका छन्। साथै, इरानले युद्ध होइन शान्ति चाहने पनि बताएका छन्। यसअघि विभिन्न रिपोर्टमा होर्मुज स्ट्रेटमा दुई भारतीय झण्डाधारी जहाजलाई इरानी सुरक्षाबलले रोक्ने क्रममा गोली चलेको दाबी गरिएको थियो।
ती जहाजलाई आफ्नो बाटो परिवर्तन गर्न आदेश दिइएको र पछि फर्किएको पनि बताइएको छ। उक्त जहाजहरू तेल बोकेर गइरहेका थिए भन्ने संकेतसमेत देखिएको छ। घटनापछि भारतले इरानी राजदूतलाई बोलाएर चिन्ता व्यक्त गरेको छ। भारतले आफ्ना जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न इरानलाई आग्रह गरेको छ।







