राजनीतिक विवाद अदालतले होइन, नियतले समाधान गर्छ : गोकुल बास्कोटा

User Image Prime TV News एक महिना अगाडि
Image of राजनीतिक विवाद अदालतले होइन, नियतले समाधान गर्छ : गोकुल बास्कोटा

काठमाडौ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक विवाद अदालतबाट समाधान नआउने बताएका छन्। नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी फैसलालाई सङ्केत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले अन्य विवादमा न्यायका लागि अदालत जानु स्वाभाविक भए पनि राजनीतिक झगडामा अदालतले दीर्घकालीन समाधान दिन नसक्ने दाबी गरे। उनले लेखेका छन्, 'अन्य झगडामा अदालत जानु ठीक हो, तर राजनीतिक विवाद अदालत पुगेर पनि सुल्झिँदैन।'

बास्कोटाले विगतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताको उदाहरण दिँदै अदालतको निर्णयपछि पनि दलभित्रको विवाद समाधान हुन नसकेको उल्लेख गरे। 'नेकपा मिल्यो, पछि झगडा पर्यो, अदालत गयो, निर्णय पनि आयो तर फेरि एकता टिकेन, सिसाजस्तै चकनाचुर भयो,' उनले भने।

उनले राजनीतिक एकता कानुनी प्रक्रियाले होइन, नेतृत्वको नियत र विश्वासमा निर्भर हुने धारणा राखे। कांग्रेसतर्फ संकेत गर्दै उनले प्रश्न गरेका छन्- 'अब कांग्रेस के हुन्छ? रबरजस्तो लचकदार कि सिसाजस्तो फुट्ने?'