सभामुख अर्यालले पत्रकारसँग भने: गल्ती देखाइदिनुहोस्, सच्याउँछु

User Image Prime TV News एक महिना अगाडि
Image of सभामुख अर्यालले पत्रकारसँग भने: गल्ती देखाइदिनुहोस्, सच्याउँछु

काठमाडौ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूलाई आफ्ना गल्तीहरू औँल्याइदिन आग्रह गरेका छन्।

शुक्रबार आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले आफूबाट गल्ती भए सुझाव दिन र सच्याउन तयार रहेको बताए। उनले भने, “मेरो गल्ती भए सुझाव दिनुहोस्, म तुरुन्तै माफी माग्न सक्छु, तर त्यसमा अनावश्यक रूपमा नखेलिदिनुहोला।”

सभामुख अर्यालले गलत विषयलाई प्रस्तुत गर्दा व्यक्तिगत भन्दा पनि संस्थागत असर पर्ने भएकाले पत्रकारहरूले जिम्मेवारीपूर्वक समाचार लेख्नुपर्ने बताए। उनले विषय लुकाउन नखोजेको तर प्रस्तुत गर्दा विचार गर्नुपर्नेमा जोड दिए।

उनले आफूलाई सभामुखको भूमिका नयाँ भएको भन्दै अझै धेरै सिक्न बाँकी रहेको पनि बताए। त्यस्तै, उनले सबै नागरिकले राज्यको अनुभूति गर्न पाउने गरी काम गर्नुपर्ने बताए। “चप्पल लगाउनेदेखि जुत्ता लगाउनेसम्म सबैले आफ्नो सरकार छ भन्ने महसुस गर्ने वातावरण बनाउनेछौँ,” उनले भने।

सभामुख अर्यालले पत्रकारहरूलाई सुझाव दिँदै आफूलाई सुधार गर्न सहयोग गर्न पनि आग्रह गरेका छन्।