दाइजो प्रथा विरुद्ध उपसभामुखको कडा सन्देश
Prime TV News एक महिना अगाडि 
काठमाडौ । उपसभामुख रुबिना ठाकुरले दाइजो (दहेज) हुने विवाहमा सहभागी नहुने बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफूलाई धेरै विवाहका निमन्त्रणापत्र आउने गरेको तर कुनैमा पनि ‘दहेजमुक्त विवाह’ उल्लेख नभएको बताइन्।
यसले समाज अझै दाइजो प्रथाबाट मुक्त हुन नसकेको देखाउने उनको भनाइ छ। ठाकुरले दाइजो लिनु र दिनु मात्र होइन, दाइजो भएको विवाहमा जानु र भोज खानु पनि गलत भएको बताइन्। उनले यस्तो काम सामाजिक रूपमा अस्वीकार्य र कानूनी रूपमा पनि दण्डनीय रहेको उल्लेख गरिन्।
उनले दाइजो प्रथाले महिलाको सम्मान र अधिकारमा असर पर्ने भन्दै यस्तो कुरीति अन्त्य गर्न सबैले आ-आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताइन्। साथै, उनले दाइजो हुने विवाहमा नजाने निर्णय दोहोर्याउँदै दहेजमुक्त र समानतामा आधारित विवाहलाई बढावा दिन आग्रह गरिन्।
विवाहको कार्डमै ‘दहेजमुक्त विवाह’ भन्ने सन्देश राख्न पनि उनले सबैलाई अनुरोध गरेकी छन्।







