राष्ट्र बैकले तरलता नियन्त्रण गर्न आज ४० अर्ब रुपैयाँ बजारबाट खिच्दै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल राष्ट्र बैकले बैंकिङ प्रणालीमा बढी भएको तरलता नियन्त्रण गर्न आज ४० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ। राष्ट्र बैंकका अनुसार वैशाख २ गते दिउँसो ३ बजे निक्षेप संकलन उपकरणमार्फत बोलकबोल गरिनेछ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन्।
सहभागी संस्थाहरूले घटीमा १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। उनीहरूले ५ करोड रुपैयाँका दरले भाग जाने गरी कुल रकमसम्म बोलकबोल गर्न पाउने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले बोलकबोल ब्याजदरका आधारमा गर्ने जनाएको छ। साथै, बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ।
यो ५६ दिनका लागि संकलन गरिने निक्षेप उपकरण हो। यसको साँवा र ब्याज जेठ २७ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बैंकिङ प्रणालीमा पैसा बढी भएपछि राष्ट्र बैंकले यस्तो उपायमार्फत तरलता नियन्त्रण गर्दै आएको छ।







