होर्मुज जलमार्गमा अमेरिकी नाकाबन्दी, अमेरिका–इरान तनाव चर्कियो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अमेरिका र इरानबीचको तनाव झन् बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज मा नाकाबन्दी गर्ने घोषणा गरेका छन्।
इस्लामाबादमा भएको अमेरिका–इरान शान्ति वार्ता बिना निष्कर्ष टुंगिएपछि अमेरिकायो कदममा पुगेको हो। खासगरी आणविक विषयमा सहमति हुन नसकेपछि स्थिति बिग्रिएको हो।
राष्ट्रपति ट्रम्पले अब होर्मुज जलमार्गबाट जाने वा आउने सबै जहाजलाई अमेरिकी नौसेनाले रोक्ने र जाँच गर्ने बताएका छन्। उनका अनुसार, इरानलाई पैसा (टोल) तिर्ने जहाजलाई विशेष निगरानीमा राखिनेछ र सहज रूपमा जान दिइने छैन।
यसको उद्देश्य इरानको अर्थतन्त्रमा दबाब दिनु रहेको अमेरिकाले जनाएको छ। ट्रम्पले आवश्यक परे कडा कदम चाल्न अमेरिका तयार रहेको पनि चेतावनी दिएका छन्।
उता इरानले भने यो जलमार्ग आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ। इरानले यहाँबाट जाने जहाजहरूले आफ्नो मुद्रा ‘रियाल’मा शुल्क तिर्नुपर्ने अडान राखेको छ।
होर्मुज जलमार्ग विश्वको महत्वपूर्ण तेल मार्ग हो। यहाँ तनाव बढ्दा तेल आपूर्ति र मूल्यमा असर पर्न सक्छ। अहिलेको अवस्था हेर्दा दुवै देशबीचको सम्बन्ध झन् बिग्रने संकेत देखिएको छ।







