अर्थ मन्त्रीको १२ करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अर्थमन्त्री स्वर्णिम वाग्लेको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
सार्वजनिक विवरण अनुसार वाग्लेसँग १२ करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा रहेको छ। उनले ललितपुरको सानेपामा करिब २ करोड रुपैयाँको अपार्टमेन्ट, भैँसेपाटीमा ५ करोड रुपैयाँको घर, काभ्रेको धुलिखेलमा ३ करोड ७५ लाख रुपैयाँको अपार्टमेन्ट र बन्दिपुरमा २ करोड रुपैयाँ बराबरको जग्गा रहेको उल्लेख गरेका छन्।
त्यस्तै, उनले विभिन्न कम्पनीमा लगानी पनि गरेका छन्। सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजारभन्दा बढी कित्ता शेयर रहेको छ भने सांग्रिला विकास बैंकमा २५ हजारभन्दा बढी प्रमोटर शेयर रहेको उल्लेख छ।
यसका साथै, अपर मादी खोला हाइड्रोमा करिब ३ करोड रुपैयाँ बराबरको शेयर, नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडमा ९० लाख रुपैयाँ र ठूलो खोलामा ६० लाख रुपैयाँ बराबरको लगानी रहेको विवरणमा जनाइएको छ।







