पक्राउ परेका युट्युबर रोशन पोखरेल रिहा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । युट्युबमार्फत अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उनलाई आवश्यक परेको बेला उपस्थित हुने सर्तमा आफन्तको जिम्मा लगाएर छाडिएको हो। यसबारे डीएसपी अनिश कर्ण ले जानकारी दिएका छन्।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का पोखरेललाई चैत २६ गते पक्राउ गरिएको थियो। उनले बालेन्द्र शाह लगायत नेताहरूविरुद्ध अपमानजनक शब्द प्रयोग गर्दै भिडियो बनाएको आरोप लागेको थियो। नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा उनलाई पक्राउ गरी जिल्ला अदालतबाट १० दिनको म्याद थपिएको थियो।
उनको पक्राउपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री शाहबारे समर्थन र विरोधमा विभिन्न प्रतिक्रिया आएका थिए। अहिले उनी रिहा भए पनि घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।







