कांग्रेसले संसदीय दलको नेता निर्वाचन प्रक्रियाबाट चयन गर्ने तयारी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले संसदीय दलको नेता निर्वाचन प्रक्रियाबाट चयन गर्ने तयारी गरेको छ। सहमतिबाट टुंगो लगाउने प्रयास असफल भएपछि अब चुनावमार्फत नेता छनोट हुने भएको हो । महामन्त्री प्रदीप पौडेलका अनुसार दलको नेताका लागि धेरै आकांक्षी भएकाले सहमति जुट्न नसकेको हो।
उनले सबै नेताहरू आ–आफ्नो अडानमा रहेकाले अब ढिलाइ गर्न नहुने बताएका छन्। उनका अनुसार सहमति नभए निर्वाचन नै अन्तिम विकल्प हुनेछ। नयाँ वर्षसँगै संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको छ। दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, निश्कल राई र बासना थापाले दाबी गरेका छन्।
पार्टी कार्यालयका मुख्यसचिव कृष्ण दुलालका अनुसार संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन गर्ने तयारी भइरहेको छ। उक्त समिति वैशाख २ गतेभित्र गठन हुने बताइएको छ। हाल प्रतिनिधिसभामा रहेका ६ दलमध्ये ५ दलले संसदीय दलको नेता चयन गरिसकेका छन् भने नेपाली कांग्रेस मात्र बाँकी रहेको छ।







