बाबुराम भट्टराई भारत भ्रमणमा जाने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा जाने भएका छन्। उनी आइतबार भारत प्रस्थान गर्ने तय भएको हो।
भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक निमन्त्रणामा ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ मा प्रमुख वक्ताका रूपमा सहभागी हुन भारत जान लागेका हुन् । कार्यक्रम वैशाख १ गते आयोजना हुँदैछ।
भ्रमणमा हिसिला यमी पनि सहभागी हुने जनाइएको छ। ग्वालियरमा रहँदा भट्टराईले त्यहाँका विद्यार्थी, प्राध्यापक तथा अनुसन्धानकर्तासँग समसामयिक विषयमा अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको छ।
ग्वालियरको कार्यक्रम सकिएपछि भट्टराई नया दिल्ली जानेछन्। त्यहाँ उनले साउथ एसिया युनिभर्सिटीमा वैशाख २ गते हुने अन्तरविषयक संवाद कार्यक्रममा ‘नयाँ राजनीति मार्फत नेपालको समृद्धिको मार्ग’ विषयमा मुख्य सम्बोधन गर्नेछन्।
दुवै कार्यक्रम सम्पन्न गरेर भट्टराई सोही दिन साँझ नेपाल फर्किने कार्यक्रम रहेको उनका स्वकीय सचिवले जानकारी दिएका छन्।







