इरान नीतिलाई लिएर ट्रम्प–समर्थकबीच सम्बन्ध बिग्रियो

User Image Prime TV News ५ घण्टा अगाडि
Image of इरान नीतिलाई लिएर ट्रम्प–समर्थकबीच सम्बन्ध बिग्रियो

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनलाई विगतमा समर्थन गरेका केही सञ्चारकर्मीबीच सम्बन्ध चिसिएको छ। पछिल्लो समय ट्रम्पले आफ्ना पूर्वसमर्थकहरूविरुद्ध कडा टिप्पणी गरेपछि विवाद बढेको हो।

ट्रम्पको समर्थनमा पहिला सक्रिय रहेका टकर कार्ल्सन, मेगिन केली, क्यान्डिस ओवेन्स र एलेक्स जोन्ससँग अहिले उनको सम्बन्ध बिग्रिएको बताइएको छ। हालै ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत उनीहरूलाई ‘पागल’ र ‘उपद्रवी’ जस्ता शब्द प्रयोग गर्दै आलोचना गरेका थिए। ती सञ्चारकर्मीहरूले पछिल्लो समय इरान नीतिलाई लिएर ट्रम्पको आलोचना गर्दै आएका छन्।

ट्रम्पले उनीहरूले आफ्नो आलोचना लोकप्रियता बढाउनका लागि गरेको आरोप लगाएका छन्। साथै, उनीहरूलाई विभिन्न टेलिभिजनबाट हटाइएको भन्दै व्यंग्य पनि गरेका छन्। यसपछि ती सञ्चारकर्मीहरूले पनि प्रतिक्रिया जनाएका छन्। एलेक्स जोन्सले ट्रम्पको आलोचना गर्दै रिपब्लिकन पार्टीले अब नयाँ बाटो रोज्नुपर्ने बताएका छन्। उनले ट्रम्प आफैं परिवर्तन भएको दाबी गरेका छन्।

त्यस्तै टकर कार्ल्सनले पनि इरानसँग सम्बन्धित नीति र ट्रम्पको अभिव्यक्तिको आलोचना गरेका छन्।