जनअपेक्षा पूरा गर्न संसद र सरकार जिम्मेवार हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको निर्वाचनपछि नेपालको संसदीय इतिहासमै अभूतपूर्व रूपमा युवा वर्गको प्रतिनिधित्व भएको बताएका छन्। संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले नयाँ सरकार गठन भई काम सुरु भइसकेको जानकारी दिए।
राष्ट्रपतिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा युवा पुस्ताको सहभागिता, विश्वास र नेतृत्व विकास भएको स्पष्ट संकेत देखिएको बताए। उनका अनुसार जनताले अब उत्तरदायी र पारदर्शी शासन, प्रभावकारी सेवा प्रवाह, भ्रष्टाचारको अन्त्य, सुशासन र विधिको शासन चाहेका छन्। साथै मुलुकभित्र रोजगारीका अवसर, सामाजिक न्याय, आर्थिक विकास र शान्ति–स्थायित्वको अपेक्षा पनि जनताले राखेको उनले बताए।
राष्ट्रपति पौडेलले विभिन्न जनआन्दोलन र पछिल्लो युवा पुस्ताको आन्दोलनले पनि यही परिवर्तनको माग गरेको उल्लेख गरे। उनले संसद्ले नागरिक केन्द्रित र जनकल्याणकारी कानुन बनाउनुपर्नेमा जोड दिए। साथै बनेका कानुनको प्रभावकारी कार्यान्वयन सरकारले सुनिश्चित गर्नुपर्ने बताए। त्यस्तै न्यायपालिकाबाट छिटो, निष्पक्ष र स्वतन्त्र न्याय सम्पादन हुन सके मात्रै परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूको साँचो सम्मान हुने उनले बताए।







