विद्यार्थी युनियन खारेजीको तयारीविरुद्ध आन्दोलन घोषणा
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनहरूले आन्दोलन घोषणा गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गरी संयुक्त विद्यार्थी सङ्गठनहरूले चरणबद्ध आन्दोलन सुरु गर्ने जानकारी दिएका हुन्।
सरकारले शासकीय सुधारसम्बन्धी सय बुँदे सूचीमार्फत विद्यार्थी संगठन खारेज गर्ने तयारी गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। आन्दोलन कार्यक्रमअनुसार चैत २७ गते पत्रकार सम्मेलन, चैत २९ गते नागरिक अगुवासँग छलफल र चैत ३० गतेदेखि वैशाख ४ गतेसम्म देशभरका कलेजहरूमा छलफल तथा अन्तरक्रिया गरिनेछ।
त्यस्तै वैशाख ५ गते पूर्व विद्यार्थी नेता र सांसदहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। वैशाख ७ देखि ९ गतेसम्म कलेजहरूमा प्रचारप्रसार, ब्यानर प्रदर्शन, पर्चा वितरण, सांस्कृतिक कार्यक्रम र हस्ताक्षर सङ्कलन गरिनेछ। वैशाख ११ गते विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाइनेछ भने वैशाख १२ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने कार्यक्रम छ।
वैशाख १५ गते काठमाडौँ उपत्यकासहित देशभर कापी–कलमसहित प्रदर्शन गर्ने कार्यक्रम पनि तय गरिएको छ। संयुक्त विद्यार्थी सङ्गठनले ७ बुँदे माग पनि अघि सारेका छन्। उनीहरूले विश्वविद्यालयमा प्रविधि सुधार, साइबर सुरक्षा नीति निर्माण, शैक्षिक सुधार कार्यान्वयन र अन्य शैक्षिक सुधारका माग राखेका छन्। साथै महँगी नियन्त्रण र सरकारले स्पष्ट नीति लिनुपर्ने माग पनि उनीहरूको छ।







