गोरखादेखि जितगढीसम्म नेपाली सेनाको ऐतिहासिक पदयात्रा सुरु

User Image Prime TV News ५ घण्टा अगाडि
Image of गोरखादेखि जितगढीसम्म नेपाली सेनाको ऐतिहासिक पदयात्रा सुरु

काठमाडौ । गोरखा दरबारदेखि जितगढीसम्मको ऐतिहासिक एकीकरण पदमार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ। यो पदयात्रा शुक्रबारदेखि सुरु भएको हो र यो यसको चौथो संस्करण हो । गोरखा दरबारको हनुमानभञ्ज्याङमा आयोजित कार्यक्रममा सहभागी टोलीलाई बिदाइ गरिएको थियो।

टर्च लाइट र विभिन्न सैनिक कम्पनीका झण्डा हस्तान्तरण गर्दै पदयात्रा सुरु गरिएको हो। कार्यक्रममा नेपाली सेना, स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सेनानी रोशन अधिकारीको नेतृत्वमा ३५ जनाको टोली पदयात्रामा सहभागी छ।

गोरखाबाट सुरु भएको यात्रा तनहुँ, पाल्पा हुँदै रुपन्देहीको जितगढी पुगेर सम्पन्न हुनेछ। यात्राका क्रममा एक जिल्लाबाट अर्को जिल्लालाई झण्डा र टर्च हस्तान्तरण गर्दै अघि बढिनेछ। यो यात्रा करिब २०७ किलोमिटर लामो छ र आठ दिनमा पूरा गर्ने लक्ष्य राखिएको छ। टोली बैशाख ६ गते जितगढी पुग्ने र भोलिपल्ट हुने विजय उत्सवमा सहभागी हुने कार्यक्रम छ।

ऐतिहासिक कोट, गढी र किल्लाहरूको संरक्षण गर्दै इतिहासको जगेर्ना गर्नु यस पदयात्राको मुख्य उद्देश्य हो। साथै, यसले पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।