लोकसेवा आयोगको प्रवेशपत्र तथा एनओसी पनि अब नागरिक एपबाटै

User Image Prime TV News ६ घण्टा अगाडि
Image of लोकसेवा आयोगको प्रवेशपत्र तथा एनओसी पनि अब नागरिक एपबाटै

काठमाडौ । सरकारले नागरिक सेवाहरूलाई डिजिटल प्रणालीमार्फत सहज र प्रभावकारी बनाउने अभियानलाई तीव्र बनाएको छ। यसैअनुसार अब नागरिक एपमार्फत थप महत्त्वपूर्ण सरकारी सेवाहरू उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ।

सूचना प्रविधि विभागका अनुसार निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोकसेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पनि अब नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था ल्याइँदैछ। हाल यो प्रणाली परीक्षण चरणमा रहेको र एक हप्ताभित्र पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

यो योजना मन्त्रिपरिषद्बाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ अन्तर्गत अघि बढाइएको हो। सोही अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सम्बन्धित निकायलाई समयसीमासहित कार्यान्वयनका लागि निर्देशन दिएको छ।

सूचना तथा सञ्चार प्रविधिमन्त्रीले नागरिक एपमार्फत सरकारी सेवाहरूलाई थप एकीकृत गर्न निर्देशन दिएका छन्। त्यसपछि सूचना प्रविधि विभागले विभिन्न सरकारी निकायसँग समन्वय गर्दै प्रणाली विस्तारको काम अघि बढाएको छ।

यसै क्रममा नेपाल इन्जिनियरिङ परिषद्सँग पनि सम्झौता गरी व्यावसायिक इन्जिनियर प्रमाणपत्रसमेत नागरिक एपबाट उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ। यसअघि नै नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र सेवा सञ्चालनमा आइसकेको छ। थप सेवाहरू पनि जोडिँदै गएपछि नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको योजना अझ मजबुत हुने अपेक्षा गरिएको छ।