एन्डी रोबर्टसनले जारी सिजनको अन्तिममा क्लब छाड्ने

User Image Prime TV News ३ घण्टा अगाडि
Image of एन्डी रोबर्टसनले जारी सिजनको अन्तिममा क्लब छाड्ने

काठमाडौ । इंग्लिस क्लब लिभरपुलका रक्षक एन्डी रोबर्टसनले जारी सिजनको अन्तिममा क्लब छाड्ने भएका छन् । बिहीबार लिभरपुलले रोबर्टसनले यो सिजनको अन्त्यमा क्लब छाड्ने जनाएको हो । लिभरपुलले सामाजिक सञ्जालमा रोबटर्सनको भिडियो सन्देश सार्वजनिक गरेको थियो । त्यहाँ रोबर्टसनले आफूले क्लब छाड्ने बताएका हुन् ।

लिभरपुलजस्तो सफल टिम छाड्ने निर्णय मेरो निम्ति निकै असहज निर्णय हो । किनभने, यो क्लब मेरो करियरको सारथि बनेको छ । तर, फुटबलमा सधैँ खेल्छु भनेर सकिँदैन,” उनले भिडियोमा भनेका छन्, “मलाई यही समय क्लब छाड्नका निम्ति उपयुक्त समयजस्तो लाग्यो । म यसपछि जहाँ गए पनि लिभरपुललाई सम्झनेछु ।”

उनी यो सिजन क्लब छाड्ने दोस्रो खेलाडी बन्नेछन् । उनीअघि फरवार्ड मोहम्मद सलाहले सिजनको अन्त्यमा क्लब छाड्ने लिभरपुलले जनाएको थियो । रोबर्टसन सन् २०१७ मा लिभरपुल आएका थिए । उनलाई लिभरपुलले इंग्लिस क्लब हल्क सिटीबाट अनुबन्ध गरेको थियो । क्लबबाट रोबर्टसनले २७० खेल खेल्दा १० गोल गरेका छन् ।

रोबर्टसनले लिभरपुलमा रहँदा दुईपटक प्रिमियर लिग र लिग कप जितेका छन् । एकपटक च्याम्पियनस लिग, एफए कप, फिफा क्लब विश्वकप, यूइएफए सुपर कप र कम्युनिटी सिल्डको उपाधि उचालेका छन् ।