कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही र अप्रमाणितः रमेश लेखक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले आफूलाई पक्राउ गर्न प्रयोग गरिएको जाँचबुझ आयोगको प्रतिवेदनप्रति कडा आपत्ति जनाएका छन्। उनले उक्त प्रतिवेदनलाई पूर्वाग्रही र अप्रमाणित भएको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै लेखकले सोही प्रतिवेदनका आधारमा आफूलाई फौजदारी अभियोग लगाएर १३ दिनसम्म नियन्त्रणमा राखिएको उल्लेख गरेका छन्। उनले अन्ततः आफू रिहा भएको पनि जानकारी दिएका छन्।
लेखकले आफू सधैं कानुनको पालना गर्ने र न्यायप्रति विश्वास राख्ने व्यक्ति भएको बताएका छन्। उनले अब कानुनी र राजनीतिक रूपमा आफ्नो लडाइँ जारी रहने पनि बताएका छन्। जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनलाई चैत १४ गते भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो।
पक्राउपछि उनलाई काठमाडौंको महाराजगन्जस्थित प्रहरी गणमा राखिएको थियो। बिहीबार भने उनलाई हाजिरी जमानीमा रिहा गरिएको छ।







