अस्पतालहरूमा आइतबार पनि ओपीडी (बहिरंग) सेवा सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालको निर्देशन

User Image Prime TV News ४ घण्टा अगाडि
Image of अस्पतालहरूमा आइतबार पनि ओपीडी (बहिरंग) सेवा सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालको निर्देशन

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालहरूमा आइतबार पनि ओपीडी (बहिरंग) सेवा सञ्चालन गर्ने व्यवस्था लागू गर्न निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बिरामीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालहरूले आइतबार पनि आफ्नो कामको चाप र उपलब्ध जनशक्तिको आधारमा ओपीडी सेवा सञ्चालन गर्नुपर्नेछ।

विज्ञप्तिमा अस्पतालहरूले कार्यसम्पादनका क्रममा कर्मचारीहरूको बिदा व्यवस्थापनसमेत मिलाउनुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार यस व्यवस्थाअन्तर्गत कर्मचारीहरूलाई हप्तामा शनिबारबाहेक अर्को एक दिन गरी दुई दिन बिदा दिने व्यवस्था गर्नुपर्नेछ। यदि कुनै कारणले बिदा दिन नसकिने अवस्था आएमा सट्टा बिदा उपलब्ध गराउने प्रावधान राखिएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार यो व्यवस्था प्रादेशिक अस्पतालहरूमा समेत लागू गर्न आग्रह गरिएको छ। उनले अस्पतालहरूले आफ्नो जनशक्ति व्यवस्थापन गर्दै बिरामीलाई सेवा दिनुपर्नेमा जोड दिए।

मन्त्रालयले आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्दा बिरामीको पहुँच विस्तार हुनुका साथै अस्पतालमा हुने भीड व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले यो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न अस्पतालहरूलाई अनुरोध गरिएको छ।