उपसभामुखको निर्वाचन आज, श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा बिच प्रतिस्पर्धा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधि सभाले आज उपसभामुख चयन गर्ने भएको छ। आज दिउँसो ४ बजे बस्ने बैठकमा उपसभामुखको निर्वाचन गरिने कार्यसूची तय गरिएको छ।
उपसभामुख पदका लागि दुई जना सांसदबीच प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरबीच चुनाव हुने निश्चित भएको हो।
ठाकुरको प्रस्तावकमा आर्यन राई रहेका छन् भने समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरी र अम्बिकादेवी निरौला रहेका छन्। यता लामाको प्रस्तावकमा ज्ञानबहादुर शाही रहेका छन् भने उनका समर्थकमा खुश्बु ओली, ताहिर अली र भरत गिरी छन्।
प्रतिनिधि सभाको संख्या हेर्दा नतिजा लगभग स्पष्ट देखिन्छ। २७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी सँग एक्लै १८२ मत रहेको छ। त्यसैले रास्वपाले समर्थन गरेमा ठाकुर उपसभामुख बन्ने लगभग निश्चित छ।







