विश्व बैंकको प्रक्षेपण: नेपालमा आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित रहने

User Image Prime TV News एक महिना अगाडि
Image of विश्व बैंकको प्रक्षेपण: नेपालमा आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित रहने

काठमाडौ । विश्व बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो दर ४.६ प्रतिशत थियो ।

विश्व बैंकले मध्यम वृद्धि प्रक्षेपणको कारण मध्यपूर्वमा जारी द्वन्द्व र गत भदौको आन्तरिक आन्दोलनलाई मुख्य कारण उल्लेख गरेको छ। सुस्त पर्यटन गतिविधि, उच्च यातायात खर्च र आपूर्ति शृंखलामा सम्भावित अवरोधले सेवा क्षेत्र सबैभन्दा बढी प्रभावित हुने देखिएको छ।

यद्यपि, आगामी दिनमा पुनर्निर्माण कार्य, जलविद्युत विस्तार र २०८४ सालको प्रदेश तथा स्थानीय निर्वाचनसँग सम्बन्धित उपभोगले आर्थिक वृद्धिदर २०८४/८५ मा औसत ४.४ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ।

विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिस्लेनले भने, “नेपालको आर्थिक उत्थानमा निजी क्षेत्रको नेतृत्वमा हुने वृद्धिले महत्त्वपूर्ण भूमिका खेल्नेछ। यसको लागि व्यावसायिक वातावरण सुधार, आधारभूत पूर्वाधार विकास, निजी लगानी प्रवर्धन र पर्यटन, सूचना प्रविधि तथा कृषि जस्ता प्राथमिक क्षेत्रहरूमा सहयोग आवश्यक छ।”

फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि आएको राजनीतिक स्थिरता, सबल आर्थिक व्यवस्थापन र पर्याप्त विदेशी विनिमय सञ्चिति आर्थिक वृद्धिलाई समर्थन गर्नेछ। विश्व बैंकको यो प्रतिवेदन नेपाल डेभलपमेन्ट अपडेट दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्था र सम्भावनाको अर्धवार्षिक विश्लेषण हो। यसले क्षेत्रीय औद्योगिक नीति र विकास रणनीतिहरूको विस्तृत अध्ययन समेत समेटेको छ।