असन क्षेत्र शनिबारदेखि सवारी मुक्त, सांस्कृतिक तथा व्यापारिक कार्यक्रम हुने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । काठमाडौंको असन क्षेत्रको मौलिकता र सांस्कृतिक महत्व जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरिने भएको छ। यस अवधिमा सामाजिक, सांस्कृतिक र व्यापारिक गतिविधि बढाउने योजना बनाइएको छ।
कार्यक्रमको तयारीका लागि काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सरोकारवाला बैठक बसेको थियो। बैठकले आवागमनको सहजता र सुरक्षा सुनिश्चित गर्दै कार्यक्रमलाई प्रारम्भमा योजना भन्दा एक हप्ता ढिला गरी वैशाख ५ बाट सुरु गर्ने निर्णय गरेको हो।
डंगोलले भनिन्, “असन बजार सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक स्थान हो। यसको प्राचीन र सांस्कृतिक महत्व जोगाउनु हाम्रो दायित्व हो।” वडा अध्यक्ष योगेशकुमार खड्गीले भने, “स्थानीय, संघसंस्था र समुदायको सहभागितामा कार्यक्रमले असनको मौलिकता जोगाउने र वायु प्रदूषण नियन्त्रणमा योगदान दिनेछ।”
कार्यक्रम अन्तर्गत वडा नं. २७ को कमलाक्षी चोकदेखि असन, भोटाहिटी चोकदेखि असन र महाबौद्धदेखि असनसम्मको क्षेत्रमा हरेक शनिबार सवारी साधन रोक लगाइनेछ। गन्तव्यमा जानुपर्ने सवारी साधनका लागि वैकल्पिक मार्ग उपलब्ध गराइनेछ।
यस कार्यक्रमको व्यवस्थापन महानगर प्रहरी बलले गर्नेछ। साथै स्थानीय परम्परागत व्यापार, सांस्कृतिक कार्यक्रम र सामाजिक गतिविधि प्रवर्द्धन गरिने योजना छ।







