भृकुटी स्टक ब्रोकिङ कम्पनीको अनुमति निलम्बन

User Image Prime TV News २ घण्टा अगाडि
Image of भृकुटी स्टक ब्रोकिङ कम्पनीको अनुमति निलम्बन

काठमाडौ । नेपाल धितोपत्र बोर्डले भृकुटी स्टक ब्रोकिङ कम्पनीको अनुमति तत्काल निलम्बन गरेको छ। ब्रोकर कम्पनीले ग्राहकको रकम दुरुपयोग गरेको, कानुनी नियम नमान्ने र अग्रिम रकम नलिई सेयर खरिद सुविधा दिएको पाइएपछि बोर्डले यस्तो निर्णय गरेको हो।

कम्पनीमार्फत कारोबार गरेका व्यवसायी दिपक भट्ट पनि पक्राउ परेका छन्। अदालतले उनलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको छ। भट्टमाथि गैरकानुनी रूपमा पैसा आर्जन गरी त्यसको स्रोत लुकाउने, छल गर्ने र सम्पत्ति शुद्धीकरण गर्ने आरोप छ।

भट्टले आफ्नो बैंक खाता प्रयोग नगरी सेयरको भुक्तानी विभिन्न कम्पनी र फन्डबाट गरेको पाइएको छ। उनले हिमालयन रि–इन्स्योरेन्स, हिमालयन सेक्युरिटिज बैंकर, नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी र एचएलआइ लार्ज क्याप फण्डबाट कुल ३ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी गरेका थिए।

धितोपत्र बोर्डले जनाएको छ, कम्पनीले खरिदकर्ताबाट रकम नलिई सेयर हितग्राही खातामा जम्मा गर्ने, बिक्रीकर्तालाई समयमै रकम नदिनेजस्ता गतिविधि गरेको पाइएको छ। चैत १२ गतेसम्म कम्पनीको लगानीकर्तालाई दिनुपर्ने बक्यौता रकम करिब ५ अर्ब ११ करोड रुपैयाँ रहेको छ।

बोर्डले निलम्बन अवधिमा कम्पनीलाई लगानीकर्ताको रकम फिर्ता गर्न निर्देशन दिएको छ। साथै, लगानीकर्ताले आवश्यक परे अन्य ब्रोकरमार्फत कारोबार गर्न सक्ने व्यवस्था मिलाइने पनि जनाएको छ।