देशभर जनआन्दोलन दिवस मनाइँदै, प्रजातन्त्र पुनःस्थापनाको सम्झना
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । नेपालमा आज जनआन्दोलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। विसं २०४६ चैत २६ गते ३० वर्ष लामो पञ्चायती शासन अन्त्य भई बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
पञ्चायती व्यवस्था विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेका थिए। लामो समयसम्म चलेको उक्त व्यवस्था २०४६ सालको जनआन्दोलनपछि अन्त्य भएको हो। नेपाली कांग्रेसको नेतृत्वमा वामपन्थी दलहरूको सहभागितामा जनआन्दोलन सञ्चालन भएको थियो। आन्दोलनको नेतृत्व गणेशमान सिंह ले गरेका थिए। करिब ५० दिनसम्म चलेको आन्दोलनले व्यापक जनसमर्थन पाएको थियो।
आन्दोलनपछि राजा वीरेन्द्र ले चैत २६ गते बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा गरेका थिए। त्यससँगै नेपालमा प्रजातान्त्रिक शासन प्रणाली पुनः सुरु भएको थियो। यस दिनलाई लोकतन्त्रका लागि भएका संघर्ष र बलिदानको सम्झनाका रूपमा हरेक वर्ष मनाउने गरिन्छ। आज पनि देशका विभिन्न स्थानमा कार्यक्रम गरी लोकतन्त्रको महत्वबारे चर्चा गरिएको छ।







