प्रचण्डको सम्पत्ति स्रोतबारे शंका: गंगा दाहाल र जीवन आचार्यको सम्पत्तिकोमाथी अनुसन्धान

User Image Prime TV News ३ घण्टा अगाडि
Image of प्रचण्डको सम्पत्ति स्रोतबारे शंका: गंगा दाहाल र जीवन आचार्यको सम्पत्तिकोमाथी अनुसन्धान

काठमाडौ । नेकपाका संयोजक पुष्पकमल दाहालको परिवारसँग जोडिएको सम्पत्तिबारे यतिबेला छानबिन तीव्र बनेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य माथि अनुसन्धान गरिरहेको जनाएको छ। दाहालले आफ्नो नाममा सीमित सम्पत्ति मात्रै रहेको विवरण बुझाउँदै आएका भए पनि परिवारको सम्पत्ति र जीवनशैलीबारे प्रश्न उठेपछि छानबिन अघि बढाइएको हो।

अनुसन्धानका क्रममा गंगा दाहालको नाममा चितवन र मोरङमा उल्लेखनीय जग्गा रहेको देखिएको बताइएको छ। ती जग्गा कसरी किनियो भन्ने स्पष्ट आधार नदेखिएको स्रोतको दाबी छ। परिवारले भने केही सम्पत्ति पैतृक वा माइती पक्षबाट आएको बताउँदै आएको छ।

त्यस्तै, जीवन आचार्यको सम्पत्ति पनि अपेक्षाभन्दा धेरै देखिएको भन्दै अनुसन्धान भइरहेको छ। उनले ललितपुर, विराटनगर लगायत स्थानमा घरजग्गा, बैंक बचत, सुन–चाँदी र कम्पनीमा लगानी रहेको विवरण दिएका छन्। तर, उनको आम्दानीको स्रोत र सम्पत्तिबीच मेल नखाएको भन्दै सम्बन्धित निकायले थप खोजी गरिरहेको छ।

यसैबीच, प्रचण्ड परिवारसँग नजिक मानिएका प्रकाश रायमाझी सँग सम्बन्धित आर्थिक गतिविधिबारे पनि छानबिन सुरु भएको छ। उनी जोडिएका कम्पनी र सम्पत्तिबारे विभिन्न आशंका उठेपछि अनुसन्धान अघि बढाइएको हो। केही गम्भीर आरोपहरू सार्वजनिक भए पनि ती हालसम्म प्रमाणित भइसकेका छैनन्।

समग्रमा, प्रचण्ड परिवारसँग सम्बन्धित सम्पत्ति र आर्थिक गतिविधिबारे उठेका प्रश्नपछि राज्य निकायले अनुसन्धान जारी राखेको छ। तर, हालसम्म कुनै पनि आरोप प्रमाणित नभएको र अन्तिम निष्कर्ष आउन बाँकी रहेको बताइएको छ।