अमेरिकासँग भएको युद्धविराम सम्झौताका तीन सर्त उल्लंघन गरेको इरानको भनाई

User Image Prime TV News ३ घण्टा अगाडि
Image of अमेरिकासँग भएको युद्धविराम सम्झौताका तीन सर्त उल्लंघन गरेको इरानको भनाई

काठमाडौ । इरानले अमेरिकासँग भएको युद्धविराम सम्झौताका तीन सर्त उल्लंघन गरिएको आरोप लगाएको छ। यसमा उसले लेबननमा इजरायलले जारी राखेको आक्रमण पनि उल्लेख गरेको छ। इरानको संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले विज्ञप्ति जारी गरी दशबुँदे प्रस्तावका तीन सर्त उल्लंघन गरिएको बताएका हुन्।

विज्ञप्तिमा लेखिएको छ, ‘हामीले अमेरिकालाई विश्वास नगर्नुको कारण भनेको आफ्नो वाचा बारम्बार तोड्ने उसको लामो समयदेखिको बानी हो। यो दुर्भाग्यपूर्ण छ- उसले फेरि आफ्नो उही प्रवृत्ति दोहोर्‍याएको छ।’

इरानी सभामुखले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘अमेरिकी राष्ट्रपतिले स्पष्ट रूपमा भनेका थिए- इरानको दशबुँदे प्रस्ताव वार्ताको 'आधार' हो। तर अहिलेसम्म यस प्रस्तावका तीन हिस्सा उल्लंघन गरिएको छ।’ इरानका अनुसार ‘लेबननमा पनि युद्धविराम गरिने सर्त पालना गरिएन। जबकि मध्यस्थकर्ता मुलुक पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले पनि स्पष्ट रूपमा भनेका थिए- युद्धविराम तुरुन्तै लागु गरिनुपर्छ लेबनन र अन्य क्षेत्रमा पनि।’

इरानी सभामुख गालिबाफले थप भनेका छन्, ‘जुन प्रस्तावमा वार्ता गरिनुपर्ने थियो, त्यो छलफल सुरु हुनुभन्दा अगाडि नै तोडिएको छ। यस्तो अवस्थामा दुईतर्फी युद्धविराम वा वार्ता कुनै अर्थ छैन।’

मंगलबार राति दुई हप्ताका लागि युद्धविराम गर्ने सहमति गरेका अमेरिका र इरानका प्रतिनिधिबिच शुक्रबार (अप्रिल १० मा) पाकिस्तानको इस्लामाबादमा स्थायी शान्तिका लागि वार्ता हुने बताइएको थियो।