लेबनानमा इजरायली आक्रमणः संयुक्त राष्ट्रसंघको कडा निन्दा, मानवीय संकट गहिरिँदै
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । लेबनानमा इजरायलले बुधबार गरेको व्यापक हवाई आक्रमणप्रति संयुक्त राष्ट्रसंघले कडा निन्दा गरेको छ। लेबनानस्थित संयुक्त राष्ट्रसंघका शीर्ष मानवीय सहायता अधिकारी इमरान रिजाले तत्काल युद्ध रोक्न र मानवीय सहायता सहज बनाउने वातावरण सिर्जना गर्न आग्रह गरेका छन्।
उनका अनुसार बेरुतसहित दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा तीन घण्टासम्म लगातार विस्फोट र एम्बुलेन्सका साइरन सुनिएका थिए। आक्रमण सुरु हुनुअघि नै एक क्याफेमा भएको हमलामा कम्तीमा ८ जनाको ज्यान गएको थियो। त्यसपछि इजरायली सेनाले छोटो समयमै १०० भन्दा बढी हवाई आक्रमण गरेको बताइएको छ।
समाचार एजेन्सी रोयटर्स का अनुसार उक्त आक्रमणमा २५० भन्दा बढी मानिसको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। अस्पतालहरूमा अत्यधिक चाप परेको र देशभर रगत दानका लागि अपिल गरिएको जनाइएको छ।
संयुक्त राष्ट्रसंघका तथ्यांक अनुसार २ मार्चदेखि हेजबुल्लाह र इजरायलबीच जारी द्वन्द्वमा हालसम्म करिब १,५०० जनाको मृत्यु भइसकेको छ, जसमा १३० बालबालिका रहेका छन्। साथै ४६१ बालबालिका घाइते भएका छन्।
द्वन्द्वका कारण करिब १२ लाख मानिस विस्थापित भएका छन्, जुन लेबनानको कुल जनसंख्याको झण्डै २० प्रतिशत हो। करिब १ लाख ३८ हजार मानिस ६७८ वटा अस्थायी आश्रयस्थलमा बसिरहेका छन्, जसको अधिकांश विद्यालयहरूमा सञ्चालन गरिएको छ। अन्य धेरै मानिसहरू आधारभूत सेवाविहीन अवस्थामा समुदायमै बसोबास गर्न बाध्य छन्।
रिजाले सर्वसाधारणमाथि हिंसाको गम्भीर असर परेको उल्लेख गर्दै तत्काल तनाव अन्त्य गरी वार्तामार्फत समाधान खोज्नुपर्ने बताएका छन्। उनले अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण पालना गर्न, नागरिक र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न तथा मानवीय सहायता मार्ग खुला राख्न सबै पक्षसँग आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसंघले द्वन्द्वरत पक्षहरूलाई स्थायी युद्धविरामतर्फ अघि बढ्न र दीर्घकालीन शान्ति स्थापना गर्न तत्काल कदम चाल्न आह्वान गरेको छ।







