ओली–लेखक हाजिरी जमानीमा रिहा हुने तयारी, सर्वोच्चको आदेशपछि म्याद थप नहुने

User Image Prime TV News ४ घण्टा अगाडि
Image of ओली–लेखक हाजिरी जमानीमा रिहा हुने तयारी, सर्वोच्चको आदेशपछि म्याद थप नहुने

काठमाडौ । केपी शर्मा ओली र रमेश लेखक लाई हाजिरी जमानीमा रिहा गर्ने तयारी भएको छ। सर्वोच्च अदालत को आदेशपछि उनीहरूलाई थप हिरासतमा राख्न नपाइने भएपछि यस्तो तयारी गरिएको हो।

उच्च स्रोतका अनुसार अदालतले तोकेको म्यादभित्र मुद्दा अभियोजन नभएपछि अब म्याद थप नगर्ने निर्णय गरिएको छ। यद्यपि, उनीहरूमाथिको अनुसन्धान कार्य पूर्ण रूपमा सम्पन्न भने भइसकेको छैन।

सर्वोच्चका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दिएको आदेशमा, तोकिएको समयसीमाभित्र अनुसन्धान पूरा गरी मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न भनिएको थियो। सो अवधिमा निर्णय हुन नसकेपछि अभियुक्तलाई हिरासतमा राख्न नमिल्ने स्पष्ट पार्दै हाजिरी जमानीमा छाड्न परमादेश जारी गरिएको थियो।

अदालतले दिएको आदेशअनुसार अब मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ अनुसार उनीहरूलाई रिहा गरिने तयारी छ। उक्त व्यवस्थाअनुसार अनुसन्धान अधिकारीले आवश्यक नदेखेमा धरौटी, जमानत वा हाजिरी जमानीमा व्यक्तिलाई छाड्न सक्ने प्रावधान छ।

प्रहरी स्रोतका अनुसार ‘अनुसन्धान जारी रहे पनि अदालतको आदेशअनुसार अब हिरासतमा राख्न मिल्दैन, त्यसैले हाजिरी जमानीमा छाड्ने प्रक्रिया अघि बढाइएको हो।’ स्रोतले सरकारबाट विशेष निर्देशन नआए उनीहरूलाई छिट्टै रिहा गरिने जनाएको छ।

ओली र लेखक चैत १४ गते पक्राउ परेका थिए। भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको जिम्मेवारी उनीहरूमाथि लगाइएको छ। सो घटनामा ७६ जनाको मृत्यु भएको र अर्बौं रुपैयाँ बराबरको क्षति भएको आरोप छ।

यसअघि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तयार पारिएको प्रतिवेदनले उनीहरूमाथि कारबाही सिफारिस गरेको थियो। सोही आधारमा उनीहरू पक्राउ परेका हुन्। हाल उनीहरू रिहा भए पनि अनुसन्धान प्रक्रिया जारी रहने र आवश्यक परे अदालतमा उपस्थित हुनुपर्नेछ।