युद्धविरामपछि पनि इरानको आक्रमण, खाडी क्षेत्र तनावग्रस्त
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । इरानले युद्धविराम घोषणा गरेको केही घण्टामै कुवेत र युएईमा आक्रमण गरेको छ। यसले खाडी क्षेत्रको अवस्था फेरि तनावपूर्ण बनाएको छ। इरानको सरकारी टेलिभिजनका अनुसार बुधबार ड्रोन र मिसाइलमार्फत कुवेत र युएईलाई लक्षित गरी हमला गरिएको हो।
यसअघि सोही दिन इरान, अमेरिका र इजरायल बीच दुई हप्ताका लागि युद्धविराम भएको घोषणा गरिएको थियो। तर त्यो लामो समय टिक्न सकेन। इरानले आफ्नो लावन द्वीपमा भएको हवाई हमलाको जवाफस्वरूप आक्रमण गरेको जनाएको छ। उक्त आक्रमणबाट तेल सम्बन्धी पूर्वाधारमा क्षति पुगेको र प्लान्टमा आगलागी भएको बताइएको छ।
कुवेतका अनुसार इरानले प्रहार गरेका २८ ड्रोनमध्ये धेरैलाई वायु सुरक्षाले बीचमै रोकेको छ। तर केही आक्रमण सफल हुँदा बिजुली केन्द्र र पानी प्रशोधन गर्ने संयन्त्रमा क्षति पुगेको छ। यस्तै, युएईले पनि आफ्नो वायु रक्षा प्रणालीले इरानी मिसाइल रोकेको जानकारी दिएको छ। युद्धविरामपछि पनि आक्रमण हुनु गम्भीर विषय हो। यसले क्षेत्रको शान्ति कमजोर बनाएको छ र थप द्वन्द्व बढ्ने चिन्ता बढाएको छ ।







